काठमाडौं । २ महिनापछि फेरि शेयर बजार परिसूचक नेप्से २ हजार विन्दुबाट तल झरेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९३ अंकले घटेर १ हजार ९ सय ९८ दशमलव २८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २ महिनापछि २ हजार विन्दुभन्दा तल झरेर बन्द भएको हो।
यस अघि नेप्से परिसूचक गत जेठ २९ गते २ हजार विन्दुभन्दा तल झरेर बन्द भएको थियो। सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज २ सय ७२ स्क्रिपको १ अर्ब ४० करोड रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, आइएमई लाइफको ५ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएको २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ । यस दिन सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।



