काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३१.८० ले घटेर २०४५.४४ विन्दुमा पुगेको छ । आइतबार बढेर बन्द भएको बजार सोमबार घटेको थियो । मंगलबार पनि बजारमा घट्ने क्रम जारी रहेको हो ।
साताको तेस्रो दिन नेप्सेमा २ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोवार भएको छ । कारोवारमा आएका २२५ कम्पनी मध्ये २० वटाको शेयरमूल्य बढेको, २०१ वटाको घटेको र ४ वटाको स्थिर रहेको छ । इमर्जिङ नेपालको शेयर सर्वाधिक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
हिमालयन डिस्टिलरी, थ्री स्टार हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, इन्फिनिटी लघुवित्तको भने शेयरमूल्यमा ६ प्रतिशत भन्दा धेरैको गिरावट आएको छ ।
मंगलबार बजारमा रहेका १३ उपसूचकमध्ये म्युचुअल फन्डबाहेक अन्य १२ वटाको शेयरमूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रकमको कारोवार हिमालयन डिस्टीलरीको र धेरै कित्ता शेयर कारोवार शिवम् सिमेन्टको भएको छ ।



