काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १ सय २५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २ सय २५ रुपैयाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २ सय ६८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसामा निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १० लाख ७६ हजार २ सय ६८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गते निष्काशन बन्द हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।



