काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि उकालो लागेको नेप्सेले आजपनि निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८१ अंकले बढेर २ हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ । २ सय ७१ स्क्रिपको ३ अर्ब १ करोड ८४ लाख रुपैयाँको ९७ लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको विहीबार २ अर्बभन्दा बढीको शेयर भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएको १ सय कम्पनीको शेयर मुल्य बढेको छ । १ सय १७ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर कारोबार स्थिर छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको संस्थापक शेयर ५८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ११ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा थ्रि स्टार हाइड्रोपावर रहेको छ । त्यस्तै, अपर सांङ्गे हाइड्रोको ९.९८ प्रतिशत, माउन्टेन इनर्जी नेपालको ९.७४ प्रतिशत, सिद्धार्थ प्रिमियम इस्योरेन्सको ८.६० प्रतिशत र गणपति लघुवित्तको ५.३४ प्रतिशतले बढेको छ ।



