काठमाडौं । कारोबारको अन्तिम समयमा बजार उच्च अंकले घट्न थालेपछि ब्रोकरहरु नै शेयर बजारलाई केरा बजारसँग दाँज्न थालेका छन् । नेपाल स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले शेयर बजारमा लगानीकर्ताको गतिविधि केराको मूल्यजस्तो घटाएर बेच्ने गरिएको बताएका हुन् ।
मंगलबार शेयर बजार परिसूचक नेप्से २८ अंकले घटेको थियो । कारोबारको पहिलो ३ घण्टासम्म एकल अंकले नकारात्मक रहेको शेयर बजार अन्तिम समयमा उच्च गिरावट हुँदा बजारले सो बराबरको क्षति व्यहोरेको हो । यसैलाई संकेत गर्दै रेग्मीले अन्तिम समयमा सस्तोमा शेयर बेचिदिने प्रवृत्ति अन्त्य गर्न आग्रह गरेका हुन् ।
‘केरा बजारमा बिक्रेताहरू दिनभर बढी मुल्यमा केरा किन्ने ग्राहकको पर्खाइमा बस्छन् । जब साँझ पर्छ केरा त भोलि सड्छ नि भनी टोकरी नै खाली गर्छन !’ बजार बन्द भएलगत्तै रेग्मी लेख्छन्, ‘शेयर बजारलाई केरा बजार नबनाऊँ ।’
मौद्रिक नीति जारी भएपछि नकारात्मक हुन थालेको शेयर बजार अहिले निरन्तर घट्दो क्रममा छ । लामो गिरावटबाहेक सामान्य सुधार हुनेबाहेक यो अवधिमा बजारमा लगानीकर्ताको आशा जगाउनेगरी बजार सुधार हुन सकेको छैन ।
असार मसान्तमा उच्च तरलताको अवस्थासँगै ब्याजदर घट्दा शेयर बजारमा सुधार भएको थियो । बैंकहरुले व्याजदरमा कार्टेलिङ हटाएपछि यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । तर, मौद्रिक नीति शेयरबजारमैत्री नभएको र पछिल्लो समय तरलताको अवस्था समेत कसिलो बन्दै गएपछि बजार घट्न थालेको हो ।
तरलतासँगै बैंकहरुले भदौ महिनाका लागि ब्याजदर बढाउने तयारी गरेको समाचारले समेत पछिल्लो समय बजारलाई तलतिर धकेलिरहेको छ ।




