images
images

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या


  • 277
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

    काठमाडौं । २०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

    बन्दीपुर गाउँपालिका–४ विमलगनरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । 

    दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताए । सुवेदीका अनुसार दरबन्दीअनुसारको कर्मचारी अभावमा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा दिइएको छ । उनले भने, “ट्रायल, लिखित परीक्षा र कार्यालयको कामकाज सञ्चालन पनि उत्तिकै गाह्रो भइरहेको छ ।”

    कार्यालयले आर्थिक बर्ष २०७९÷८० मा १८ करोड ७५ लाख ६४ हजार ७ सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक बर्ष २०७८÷७९ मा कार्यालयले १३ करोड ८४ लाख २१ हजार ३ सय ५६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  आर्थिक बर्ष २०७९÷८० मा सवारी चालक अनुमतिपत्रको ट्रायल सुरु गरिएपछि राजस्व केही बढेको हो । 

    पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी ११ कर्मचारी कार्यरत छन् । कार्यालयमा राजपत्राङ्कित तृतीय एक, अधिकृतस्तर छैटौँ दुई, सहायकस्तर पाँचौँ एक, सहायक पाँचौँ (करार) तीन, कार्यालय सहयोगी एक, हलुका सवारी चालक एक तथा श्रेणीविहीन र ज्यालादारीमा एक÷एक कर्मचारी छन् । 

    कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो । जिल्लाबाटै ट्रायल सेवा सुरुभएपछि सेवाग्राहीलाई सहज भएको छ । 

    कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ । 

    विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयका रुपमा काम गर्दै आइरहेको कार्यालय २०७८ साल फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर सङ्कलन, बाटो इजाजतपत्र, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता तथा नामसारी सेवा दिँदै आएको छ । 


    images
    images

    Logo