काठमाडौं । हकप्रद शेयर निष्कासनका लागि सिनर्जी पावरले आह्वानपत्र प्रकाशन गरेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको उक्त कम्पनीले साउन २५ गतेदेखि शेयर निष्कासन गन लागेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यसको अन्तिम मिति भदौ १३ गतेलाई तोकिएको छ ।
गत साउन १३ गते हकप्रद निष्कासनका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको थियो । उक्त दिन शेयरधनी कायम रहेकाहरुले उक्त शेयरका लागि आवेदन दिन सक्ने जनाइएको छ । सीआश्वा सेवा भएका बैंक तथा वित्तीय संस्था एवं मेरो शेयरबाट उक्त आवेदन दिन सकिन्छ । योग्य शेयरधनीको मेरो शेयर एकाउन्टमा उक्त हकप्रद शेयर भर्ने अप्सन स्वतः खुला हुने गर्छ ।
कम्पनीले उक्त हकप्रदबाट प्राप्त पुँजी सोलुखुम्बुमा निर्माणधिन २२ मेगावाटको होङ्गुखोला ए जलविद्युत् आयोजनामा खर्च गर्दैछ । उक्त आयोजनाको विद्युत् खरिदका लागि २०७५ मै नेपाल विद्युत् प्राधिकरणसँग समझदारी भइसकेको छ । यही आर्थिक वर्षको असार मसान्तसम्म आयोजनाबाट विद्युत्को व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।



