काठमाडौं । लगातार ५ दिन घटेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । मौद्रिक नीति सार्वजनिक भएको भोलीपल्ट अथात् गत साताको सोमबारदेखि लगातार ओरालो बजार आज ५.८४ अंकले बढेर २ हजार १ सय ६ दशमलव १८ विन्दुमा पुगेको छ । आज २ सय ६२ स्क्रिपको १ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार २ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
आज कारोबारमा आएका १ सय ११ कम्पनीको शेयर मूल्य बढेको छ । ९९ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ७.१० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बलेफी हाइड्रोपावरको शेयरमूल्य ५.७९ प्रतिशत बढेको छ। अन्य स्टकको शेयरमूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ।



