काठमाडौं । मौद्रिक नीति जारी भएपछिका ४ दिनमा शेयरबजार १०१ अंकले घटेको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेसँगै सोमबारदेखि घट्न थालेको शेयरबजार साताको अन्तिम कारोवार दिनसम्म समेत नकारात्मक बन्न पुग्दा बजार परिसूचकमा यस्तो गिरावट देखिएको हो ।
साताको अन्तिम दिन आज बिहीबार बजार परिसूचक २९ अंकले घटेको छ । यस्तो गिरावट बुधबार ८, मंगलबार ३६ र सोमबार २६ अंकले घटेको थियो । आइतबार भने बजार ६३ अंकले बढेको थियो ।
आजको गिरावटसँगै शेयरबजारको कुल बजार पुँजीकरण ३१ खर्ब २५ अर्ब १९ करोडमा झरेको छ । यस्तो पुँजीकरण आइतबारको अन्तिम कारोवार हुँदा ३२ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ थियो । यो आधारमा ४ दिनमा शेयरबजारले १ खर्ब ४७ अर्ब रुपैयाँ गुमाएको छ ।