images
images

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन


  • 244
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य २६ अर्ब २६ करोड ५९ लाख ७३ हजार रुपैयाँमा २० अर्ब ४७ करोड ५ लाख ९७ हजार रुपैयाँमात्रै राजस्व सङ्कलन भएको हो ।

    लक्ष्यको ७७.९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा ५ अर्ब ७९ करोड ५३ लाख ७६ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।

    आयकरतर्फ लक्ष्यको ८३ दशमलव २१ प्रतिशत अर्थात् २ अर्ब ५१ करोड २० लाख ९७ हजार रुपैयाँ, बहालकरतर्फ लक्ष्यको ८३ दशमलव ६१ प्रतिशत अर्थात्  ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै व्याजकरतर्फ ८२ दशमलव १७ प्रतिशत अर्थात् १ करोड १२ लाख २४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ८१ दशमलव ६८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ३९ लाख ५ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ७६ दशमलव ६६ प्रतिशत अर्थात् १५ अर्ब ९६ करोड ५ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य सेवा करतर्फ १ सय ६१ दशमलव ६१ प्रतिशत अर्थात् २ करोड ६२ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
     
    ढकालका अनुसार बजारमा उत्पादित सामग्रीको मागको सङ्कुचनका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो । मागको सङ्कुचनका कारण उत्पादन घट्दा राजस्वमा पनि कमी आएको छ । उनले भने, “मागको सङ्कुचनका कारण आर्थिक गतिविधिमा शिथिलता आएको देखियो । जसका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ।”
     
    कोभिड–१९ पछिको आर्थिक तरलताको प्रभाव बजारमा देखा पर्न थालेको उनले बताए । अघिल्लो आर्थिक बर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन भए पनि गत आर्थिक वर्ष भने काम भएको हो । अघिल्लो आर्थिक वर्षमा२१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा २२ अर्ब २ करोड ३२ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सो वर्ष लक्ष्यभन्दा एक प्रतिशत राजस्व बढी सङ्कलन भएको उनले बताए ।
     
    कार्यालयले खैरहनीमा समेत राजस्व सङ्कलन केन्द्र स्थापना गरी राजस्व सङ्कलन गर्दै आएको छ । जिल्लामा व्यक्तिगत प्यान लिने १ लाख ४४ हजार २ सय ९८ र व्यावसायिक प्यान लिने ६८ हजार ५ सय ९० जना रहेका छन् ।


    images
    images

    Logo