काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० को साउनदेखि असारसम्म ४ हजार भन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् । सो समयभित्र विभिन्न देशबाट ४ हजार ५० वटा विभिन्न तौल क्षमताका विद्युतीय सवारी साधन नेपाल भित्रिएको हो ।
भन्सार विभागले सार्वजनिकगत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको विवरणअनुसार ११ अर्ब ८२ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७८ मा कुल ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको १ हजार ८ सय ७ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएको थियो । विद्युतीय सवारी साधनबाट पाउने राजश्व पनि बृद्धि हुन पुगेको छ । जसमा गत बर्ष ३ अर्ब ३० करोड ४४ लाख बढी राजश्व संकलन भएको छ ।
नेपालमा विश्वका भारत, चीन, कोरिया, अमेरिका, बेलायतबाट विद्युतीय सवारी आयात हुने गरेको छ । ती मुलुकहरुबाट १०० किलोवाटदेखि ३०० किलोवाटसम्मको तौल क्षमताका विद्युतीय सवारी साधन नेपाल आउने गरेको छ । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट ५० किलोवाट क्षमताका २ हजार १ सय ८६ वटा विद्युतीय सवारी आयात भएका छन् ।
भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १ सय किलोवाट क्षमताका १ हजार २ सय २१ , दक्षिण कोरियाबाट १ सय किलोवाट क्षमताका ३ सय ४०, र इन्डोनोसियाबाट ११ वटा विद्युतीय सवारी साधान आयात भएका छन् ।
यस्तै, दक्षिण कोरियाबाट १ सयदेखि २ सय किलोवाट क्षमताका ५ वटा, युकेबाट २ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट २ सयदेखि ३०० किलोवाट क्षमताका पाँच र अमेरिकाबाट ५ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।



