काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट ३ अर्ब ३५ करोड ९ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको फलफूल आयात भएको हो ।
स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७९/८० मा पूर्वी नाका हुँदै ८० करोड ९९ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको २५ हजार ३ सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको १९ हजार ९ सय ८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ ।
प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् । यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख रुपैयाँ मूल्य बराबरको छ सय ७१ मेट्रिकटन स्याउ र ६२ करोड १२ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १५ हजार ५ सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले आयात गरेको छ ।
भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन् । कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट ३७ करोड ४ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको ७ हजार ७ सय १८ मेट्रिकटन सुन्तला र १९ करोड ५६ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको ५ सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो ।
एक वर्षमा पूर्वी नाकाबाट १९ करोड ६६ लाख ८ हजार रुपैयाँ मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ७ सय ६३ मेट्रिकटन अनार आयात भएको थियो ।
पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन ।



