images
images

गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत


  • 274
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत

    काठमाडौं । गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०७९/८० मा करिब ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत आर्थिक बर्षमा ल्याएको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बजेटमध्ये २३ अर्ब ६४ करोड ५८ लाख ६० हजार ५ सय ३७ अर्थात् ६५.८४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखानियन्त्रण कार्यालय गण्डकीले जानकारी दिएको छ ।

    जुन अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा ४.४७ प्रतिशत विन्दुले कम खर्च हो । अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारले ७०.३१ प्रतिशत बजेट खर्च गरेको थियो ।

    गत आर्थिक बर्षमा प्रदेशले चालुतर्फ ८ अर्ब ३८ करोड ३८ लाख २३ हजार १ सय ८९ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब २५ करोड रुपैयाँ, २० लाख ३७ हजार ३ सय ४८ रुपैयाँ खर्च गरेको छ । गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । 

    मन्त्रालयगत खर्च अनुसार सबैभन्दा बढी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले बजेट खर्च गरेको प्रदेश लेखानियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सबैभन्दा कम खर्च गरेका छन् ।

    गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत आर्थिक बर्षमा ७१.४५ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयका लागि कुल १ अर्ब ३१ करोड १६ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ९५ करोड २६ लाख १२ हजार ९ सय ७१ रूपैयाँ खर्च गरेको हो ।

    गत आर्थिक बर्षमा अर्थ मन्त्रालयले कुल ७२.७५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयलाई ११ करोड ९१ लाख २२ हजार ३ सय ९७ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९ करोड २ लाख ४२ हजार ४६ रुपैयाँ खर्च गरेको हो ।


    भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५.७५ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयमा १ अर्ब ९८ करोड ८७ लाख ८१ हजार ८ सय  रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ५० करोड ८५ लाख १ सय २५  रुपैयाँ बजेट खर्च भएको हो । 

    पर्यटन, उद्योग, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ८० दशमलव ७८ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयले १ अर्ब ५५ करोड ९७ लाख २७ हजार ३ सय ९२ रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब २५ करोड ९९ लाख ४७ हजार ९ सय ३ खर्च गरेको छ ।
      
    भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सबैभन्दा कम ५७ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले १४ अर्ब ३२ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ८ अर्ब ९ करोड ९५ लाख ४८ हजार ३ सय ७७  रुपैयाँ खर्च गरेको छ ।

    ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सबैभन्दा बढी ८४ दशमलव ९८ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयले ५ अर्ब ९५ करोड ७१ लाख ९८ हजार  रुपैयाँ बजेट विनियोजन भएकोमा ५ अर्ब ६ करोड २६ लाख ५९ हजार ९ सय ३२ रुपैयाँ बजेट खर्च गरेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७४ दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ६ अर्ब ११ करोड २२ लाख ९१ हजार रुपैयाँ बजेट पाएकोमा ४ अर्ब ५३ करोड ५८ लाख ३६ हजार ४ सय ८५ रुपैयाँ खर्च गरेको छ । 

    “यो वर्ष प्रतिशतका आधारमा हेर्दा अघिल्लो आवको तुलनामा कम खर्च भए पनि गत आवमा रकमका आधारमा बढी खर्च भएको छ,” प्रदेश लेखानियन्त्रक श्रेष्ठले भने, “अघिल्लो आर्थिक बर्षमा २२ अर्ब  रुपैयाँ  हाराहारीमा खर्च भएको थियो भने गत आर्थिक बर्षमा २३ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।” 


    images
    images

    Logo