काठमाडौं । प्रभु इस्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन ८ गतेको निर्णय अनुसार सो इस्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको हो ।
इस्योरेन्सले मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको र सैद्धान्तिक स्वीकृत प्राप्त हुने वा नहुने अझै अन्यौल नै रहेको व्यहोरा सहितको पत्र नेप्सेमा पेश गरी पठाएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्रको मूल्य प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
नेप्सेले इस्योरेन्सलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा सो कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।




