काठमाडौं । सेतीखोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १ सय रूपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुका लागि आइपीओ विक्री गर्न लागेको छ। कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी कम्पनी र क्यापिटलले सम्झौतापत्र गरेका छन् ।
उक्त सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी १ अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी १ अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।
सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा २०८० सालअषाढ, २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो ।उक्त संस्थामा मुख्य लगानीकर्ता Dolma Impact Fund II रहेको छ जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत शेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ ।
यस कम्पनी अध्यक्ष अनुप आचार्य रहेका छन् भने सञ्चालकको रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् । उक्त संस्थाको २२ मेगावाट क्षमता भएको बार्षिक उत्पादन क्षमता १३७.१८ रहेको छ र २०८१ साल श्रावण १३ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्य सम्पन्न भएको छ ।



