काठमाडौं । शेयर बजारको बढ्दो क्रममा आज साताको अन्तिम दिन ब्रेक लागेको छ । आइतबारबाट बढेको शेयर बजारमा आज विहीबार भने झिनो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलव ९२ विन्दुमा पुगेको छ ।
विहीबार कारोबार आएको २ सय ६४ स्क्रिपको ३ अर्ब ५ करोड रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ३४ करोडको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १.३९ प्रतिशत बढेको छ। कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २३ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कपनीको शेयर मुल्य स्थिर छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, यस दिन अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



