काटमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । आइतबार विक्री प्रबन्धक हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्टको कार्यालयमा दिउँसो साढे ३ बजे आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार आईपीओमा कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका छन् । आवेदन दिएका सबै आवेदकले शेयर पाएका छन् । आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।
शेयर बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् ।
बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।



