काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले कुल १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता निष्काशन गर्ने भएको छ ।
जसमा ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५ सय कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिनेछ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५ सय कित्ता शेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन गरिने इन्स्योरेन्सले जनाएको छ।
त्यस्तै कम्पनीको कुल निष्काशित शेयरमा ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने छ । ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ९० लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ११ लाख २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।सो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।



