काठमाडौं । आजदेखि २ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।
यी दुवै कम्पनी शेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् प्रभुको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् महालक्ष्मी लाइफको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।
हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब १९ करोड रुपैयाँ बोनससहित छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।
मर्जर पश्चात कम्पनीको सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराई नै रहनेछन् भने कम्पनी अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन सहमति भएको छ । ७ सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।
बीमा प्राधिकरणले तोकेको ५ करोड चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले एकीकृत कारोबार पछि प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको छ ।



