काठमाडौं । बंगलादेशको चर्चित सिम्फोनी ब्राण्डको मोबाइल फोन नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा स्थापित सिम्फोनीका मोबाइल फोन सिम्फोटेक प्रा.लि.ले हालै मात्र नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले पहिलो चरणमा सिम्फोनी ब्राण्डका ५ स्मार्टफोन मोडल उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड–१८, जेड–२८, जेड–३२, जेड–३० प्रो र जेड–४० मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षा का लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।
यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षाको लागि उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीका सेल्स म्यानेजर/मार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराइने बताए ।
‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स म्यानेजर/मार्केटिंग म्यानेजरद्वय चालिसे तथा बस्यालले भने।
उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताए । कम्पनीले मोबाइल सेट, ब्याट्री र चार्जरमा सबैमा एक बर्षे वारेन्टी दिने व्यवस्था गरेको छ ।
हाल सार्वजनिक गरिएको सिम्फोनी जेड–४० र जेड–३० प्रोको १६ हजार ४ सय ९९ रुपैयाँ, सिम्फोनी जेड–३२ को १३ हजार ४ सय ९९ रुपैयाँ, सिम्फोनी जेड–२८ को १२ हजार ९ सय ९९ रुपैयाँ, र सिम्फोनी जेड–१८ को बजार मूल्य ११ हजार ७ सय ९९ रुपैयाँ तोकिएको छ ।
आगामी दिनमा सिम्फोनी ब्राण्डका फिचर फोनका साथै थप मोडल भित्र्याउने तयारी समेत सो कम्पनीले गरेको छ ।



