काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको पहिलो महिनादेखि नयाँ र पुराना सबै सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न लगाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले वार्षिक १२ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारीका साथ सो योजना अघि बढाउन लागेको हो । सवारीसाधनलाई व्यवस्थित गर्न विश्वव्यापी रुपमा प्रचलनमा ल्याइएको प्रविधिमा आधारित नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ ।
नेपालमा अहिले दर्ता भएका सवारीसाधनको कुल संख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । सोमध्ये करिब ४ लाख सवारीसाधन सञ्चालनमा नरहेको आकलन विभागले गरेको छ । सञ्चालनमा रहेका सवारी साधनमा ३ वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने विभागका प्रवक्ता डा.लोकथान भुसालले जानकारी दिए ।
‘अवको तीन वर्षमा मासिक १ लाखका दरले सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने तयारी विभागले गरेको छ,’ उनले भने ‘ निषेधाज्ञा र अन्य तयारी गर्नुपर्ने भएका कारणले चार महिना ढिला गरी साउनदेखि इम्बोस्ड नम्बर लगाउने तयारी गरिएको हो ।’ यदि कोभिडका कारण निषेधाज्ञा लागू गर्नुृपर्ने अवस्था नआएको भए २०७७ चैत देखि अनिवार्य अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विभागले समय तालिका बनाएको थियो ।
विभागले आवेदन दिएकै दिन इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने तयारी गरेको पनि उनले बताए । सवारी धनी तथा चालकले उक्त नम्बर प्लेटको लागि बैंकमार्फत राजस्व बुझाउनु पर्ने हुन्छ ।
सरकारले सवारी साधनको किसिमअनुसार इम्बोस्ड नम्बर प्लेटको शुल्क निर्धारण गरेको छ । दुई पाङ्ग्रे सवारी साधनको लागि २६ सय रुपैयाँ, तीन पाङ्ग्रे सवारी साधनको लागि २९ सय, साना सवारी साधनको लागि ३२ सय र ठूला सवारी साधनको लागि ३६ सय रुपैयाँ तोकेको छ ।
सरकारले आफ्नो क्षमताको ख्यालै नगरी ५ वर्ष २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने लक्ष्य सहित यो कार्यक्रम अघि सारेको थियो ।
जेठ २०७८ मा इम्बोस्ड नम्बर प्लेट जडान थालिएको पाँच वर्ष पूरा भएको छ । यो अवधिमा देशभरका २५ लाख सवारीसाधनमा इम्बोस्ड जडान गर्ने सरकारको लक्ष्य थियो ।
इम्बोस्ड नम्बरका लागि बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगरसँग साउनदेखि लागू हुने गरी ३ वर्ष म्याद थप गर्ने तयारी विभागले गरेको हो । विभागले कम्पनीसँगको छलफलपछि १ वर्ष सचिवले म्याद थप्ने र त्यसपछि २ वर्ष मन्त्रिपरिषद् बैठकमा लगेर म्याद थप गर्ने आन्तरिक तयारी गरेको छ ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी डेकाटुरसँग ४ अर्ब ७८ करोड ७७ लाख (चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर) मा बुट मोडेलमा सम्झौता भएको हो । म्याद थप गर्दा पनि सरकारले थप लागत व्ययभार नपर्ने विभागले जनाएको छ ।



