images
images

एकल पुरुषलाई दिँइदै आएको विदुर भत्तामा वृद्धि


  • 382
    SHARES
  • २०७८ आषाढ २६ गते शनिबार

    एकल पुरुषलाई दिँइदै आएको विदुर भत्तामा वृद्धि

    बैतडी । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । 

    नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने, एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका  हौं । मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । 

    यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ । 

    टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए । भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताए। मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो ।


    images
    images

    Logo