काठमाडौँ । टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको सङ्ख्या बढ्न थालेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै यो साता दैनिक ४० देखि ५० वटा सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन आइरहेको केन्द्रले जनाएको छ । हालसम्म यहाँबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीसाधनको सङ्ख्या छ हजार पुगेको केन्द्रका प्रमुख मणिराम भुषालले बताए ।
उनका अनुसार नयाँ र पुरानो दुबै सवारीसाधनमा नम्बर प्लेट लिन सवारी धनी आइरहेका छन् । केन्द्रबाट वितरण भइरहे पनि त्यसको व्यवस्थापनको काम यातायात व्यवस्था विभागबाटै भइरहेको छ । नयाँ दर्ता भएका सवारीसाधनमा रातो नगरी एकै पटक इम्बोस्ड लिनेको सङ्ख्या बढ्दै गइरहेको उनले बताए ।
उनले भने, सरकारले यसलाई सबै सवारीसाधनमा अनिवार्य गर्नसक्ने भन्दै नयाँ किन्ने सोझै इम्बोस्ड नै लिन थालेका हुन् । केन्द्रमा इम्बोस्ड नम्बर प्लेट वितरण भइरहेकोमा यसका लागि विभागले छुट्टै जनशक्ति पठाएको केन्द्रले जनाएको छ ।
एक जना ओभरसियर केन्द्रको भए पनि बाँकी छ कर्मचारी विभागले पठाएको छ । मेकानिकल इञ्जिनीयर दुई, कम्युटरमा दुई, बायोमेटिक्स दुई र स्टोरमा एक जना कर्मचारी रहेका छन् । त्यहाँ कार्यरत कर्मचारीले मेकानिक इञ्जिनीयरको सङ्ख्या कम भएको भन्दै चार जना हुनुपर्ने माग गरेको प्रमुख भुषालले बताए ।
अहिले दुई कर्मचारीले गर्न भ्याइनभ्याइ भइरहेको छ । एक जना बिदामा हुँदा समस्या थपिने गरेको उनले बताए । अहिले केन्द्रले जनशक्तिका आधारमा दैनिक ५० वटासम्म नम्बर प्लेट वितरण गर्नसक्छ । उनले भने, अहिले मेकानिकल इञ्जिनीयर चार पु¥याउँदा दिनमा ९० सवारीसाधनलाई नम्बर प्लेट दिन सकिन्छ ।
सरकारले केही वर्ष पहिले नै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट शुरु गर्ने निर्णय गरेको थियो । नम्बर प्लेट वितरणका विषयमा अदालतमा मुद्दा रहेकाले केही वर्षसम्म अघि बढ्न सकेको थिएन । गत वर्ष साउनदेखि नम्बर प्लेट वितरण शुरु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा यसको शुरुवात गरेका थिए ।
यातायात विभागले गत आवमा सबै सरकारी सवारीसाधनमा अनिवार्य गर्ने निर्णय गरेको थियो । अझै पनि सबै सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट लिइसकेका छैनन् । सरकारले अझैसम्म अनिवार्य नगरेका कारण अहिलेसम्म पनि इम्बोस्ड लिने सवारीसाधनको सङ्ख्या कम छ ।
सरकारले फरकफरक किसिमका सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन फरक कार्यालय तोकेको छ । सरकारी सवारीसाधनका लागि बानेश्वरस्थित विभागको कार्यालय, निजी चारपाङ्ग्रे सवारीसाधनका लागि टेकुस्थित केन्द्र, दुई पाङ्ग्रे सवारीसाधनका लागि सतुङ्गलस्थित यातायात व्यवस्था कार्यालय र सार्वजनिक सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय तोकिएको छ ।



