काठमाडौं । हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।
प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।
एयरलाइन्स्ले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने योजना बनाएको जनाएको छ ।
नयाँ वेबसाइटबारे एयरलाइन्स्का अध्यक्ष जोउ इन्योङ्ले भने, हाम्रा ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन सेवा कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै हिमालय सधैंँ आफ्ना ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित भएको जिकीर गरेका छन् ।



