काठमाडौं । पछिल्लो ३ आर्थिक वर्षमा राजश्व चुहावटसम्बन्धी ४३ अर्ब बराबरको मुद्दा चलेको छ । राजश्व अनुसन्धान विभागको अनुसन्धानबाट आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७७/७८ सम्म ४३ अर्ब ४३ करोड रुपैयाँ बराबर राजश्व चुहावट भएकाे पाइएकाे विभागले जनाएको छ । सो बराबरको बिगो मागदाबीसहित राजश्वले मुद्दा चलाएको हो ।
सो मुद्दामा हालसम्म ८ सय ५२ जनालाई प्रतिवादी बनाइएको छ । कुल २ सय ४८ वटा मुद्दामा उक्त संख्यामा प्रतिवादी बनाइएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ९३ वटा मुद्दामा ३ सय १ जनालाई प्रतिवादी बनाएर ९ अर्बं ८३ करोडको मुद्दा दायर गरिएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ९७ वटा मुद्दामा ३ सय २० जना प्रतिवादी बनाएर १५ अर्ब १५ करोडको मुद्दा दायर गरिएको थियो ।
चालु आर्थिक वर्षको हालसम्म भने ५८ मुद्दामा २ सय ३१ जनालाई प्रतिवादी बनाएर १८ अर्ब ४५ करोडको मुद्दा चलाइएको छ । पछिल्लो तथ्यांकले विभागले राजश्व अनुसन्धाका ठूला घटनाहरुमा अनुसन्धान विस्तार गरेको देखिन्छ ।
यो अवधिमा कुल ११ जना राष्ट्रसेवक कर्मचारीहरुलाई समेत कर चुहावटमा संलग्न रहेको भन्दै प्रतिवादी बनाइएको छ ।
उता विदेशी विनिमयतर्र्फ यो अवधिमा कुल १० अर्ब ६५ करोडको बिगोसहित मुद्दा चलाइएको छ । कुल २ सय ५९ मुद्दामा ४ सय ४८ जनालाई प्रतिवादी बनाएर सो मुद्दा दायर भएको हो ।
विदेशी विनिमय अपचलनतर्फ आर्थिक वर्ष २०७५/७६ मा ९१ मुद्दामा १ सय ८२ जना विरुद्ध ४ अर्ब ६१ करोडको मुद्दा चलाइएको थियो । आर्थिक वर्ष २०७६/७७ मा यो १ सय ४७ मुद्दामा २ सय ३० जना विरुद्ध १ अर्ब २३ करोडको मुद्दा चलाउँदा चालु आर्थिक वर्षको यो अवधिसम्म २१ मुद्दामा ३६ जनाविरुद्ध ४ अर्ब ८१ करोडको मुद्दा दायर गरिएको छ ।
विभागले ठूला ट्रक र कन्टेनरहरुको निगरानी गर्ने भीसीटीएसको समेत निगरानी गर्दै आएको छ । हालसम्म सो प्रणालीमा १ लाख २७ हजार प्रयोगकर्ता पुगेका छन् भने पछिल्लो २ आर्थिक वर्षमा ५२ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
विभागले सोमबार गरेको अन्तर्क्रियाका क्रममा विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजश्व चुहावट नियन्त्रण गर्न एकीकृत सफ्टवेयरको तयारीमा रहेको भन्दै पहिलोपटक विभागले चुहावट नियन्त्रणसम्बन्धी ५ वर्षे योजना बनाउने तयारी गरेको बताए ।



