काठमाडौं । अपर तामाकोशी जलविद्युत् आयोजनाले आजलेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट आजदेखि उत्पादन हुने भएको हो । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
आयोजनाले करिब डेढ महिना लगाएर प्राविधिक परीक्षण पूरा गरेको छ । आयोजनाको विद्युत् गृह गोगरदेखि खिम्तीसम्म बिजुली ल्याउने प्रसारण लाइन तथा सबस्टेसन तयार भएको छ । खिम्ती–लामोसाँघु–लप्सीफेदी २२० केभी प्रसारण लाइन तयार नभएको हुँदा तामाकोसीको विद्युत् ढल्केबर पुर्याएर १३२ केभी लाइनमार्फत काठमाडाैं ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणको छ ।
विद्युत् उत्पादनको सँघारमा पुग्दा आयोजनाका लागि करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान प्राधिकरणको छ । यसमा ५२ अर्ब आयोजनाको खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ । निर्माण अवधिमा ढिलाइ भए पनि प्राधिकरणले आयोजना सफलतापूर्वक सम्पन्न गर्नुलाई ठूलो उपलब्धिका रूपमा लिएको छ ।
“ठूला समस्या झेल्दै आयोजनाबाट अब बिजुली निस्कन लागेको छ”, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, “विगतका समस्याले हामीलाई भविष्यका लागि थप प्रगतिको प्रेरणा दिएको छ ।” पूर्ण स्वदेशी पुँजी र स्वदेशी जनशक्ति मात्र प्रयोग गर्ने लक्ष्य राखिएकामा परामर्शदाता तथा इन्जिनियरिङमा विदेशी जनशक्ति प्रयोग गरिएको थियो । अब हामी स्वदेशी पुँजी र स्वेदशी जनशक्ति नै प्रयोग गरेर अर्को आयोजना बनाउने दिशामा अग्रसर छाैं”, उनले भने “४३९ मेगावाटको बेतन कर्णालीमा हाम्रो पहल यस्तै हुनेछ ।”
स्वदेशी लगानीमा निर्माण थालिएको यो आयोजनाले सुरुवाती चरणमै लगानीको चुनौती भोगेको थियो तर सरकार र मातहतका निकायको लगानी सुनिश्चित भएपछि निर्माण कार्यले तीव्रता पाएको थियो । निर्माण थालेको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य साथ २०६७ भदौ १७ बाट मुख्य संरचनाको निर्माण थालिएको थियो तर आयोजना करिब ११ वर्ष लगाएर विद्युत् उत्पादनको चरणमा पुगेको हो ।



