काठमाडौं । अरनिको राजमार्गको भक्तपुर सडकखण्डमा सीसीटिभी जडान गर्ने कार्य सम्पन्न भएको छ । मनोहरा खोलादेखि पलासेसम्मको १३ किलोमिटर सडकमा सीसीटिभी जडान गरिएको हो । स्थानीय तह, व्यवसायी, संघ संस्था, क्लब, सहकारी संस्था तथा विभिन्न व्यक्तिको सहयोगमा सीसीटिभी जडानसम्बन्धी कार्य सम्पन्न गरिएको हो ।
शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित कार्यक्रममा सो सीसीटिभी जडानको उद्घाटन गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र सीसीटिभी जडान समितिको आयोजनामा सम्पन्न गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले गरे । कार्यक्रममा बोल्दै उनले जनस्तरबाट सहयोग उठाएर सीसीटिभी जडान गर्न सफल भएकोमा समितिलाई बधाई र धन्यवाद दिँदै यसले अपराध अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारा थापाले सीसीटिभी जडान भएपछि सो क्षेत्रमा हुने दुर्घटना तथा आपराधिक क्रियाकलापमा न्यूनीकरण आउने तथा त्यस्ता घटनाको सत्यतथ्य पत्ता प्रहरीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले पछिल्लो २ वर्षमा सो क्षेत्रमा १ हजार ९ सय १७ दुर्घटना भएको र ४६ जनाको मृत्यु समेत भएको तथ्य प्रस्तुत समेत गरिन् ।

सो क्षेत्रमा ७ वटा पीटीजेड समेत गरी जम्मा ६४ वटा क्यामेरा जडान गरिएका छन् । सो क्यामेरामार्फत् खिचिएका सम्पूर्ण गतिविधिको निगरानी प्रहरी परिसर भक्तपुरबाटै हुनेछ । यो सीसीभिभीले रातको समयमा समेत रंगीन भिडियो खिच्नसक्ने क्षमता राख्छ ।
यो सीसीटिभी जडानका लागि कुल ६२ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय स्तरबाट संकलन भएको ८१ लाख रुपैयाँमध्ये बाँकी रकम समेत सोही प्रयोजनका लागि खर्च गरिने समितिको तयारी छ । बढी भिडभाड हुने ठाउँ, बसपार्क तथा अन्य सडकहरुमा थप सीसीटिभी जडान गर्ने समितिका कोषाध्यक्ष नविन प्रजापतिले जानकारी दिए ।
उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष समेत रहेका समितिका अध्यक्ष प्रदीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।



