काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ । बुधबार राति ९ बजे एक स्थानीयवासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ ।
नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीबार पनौती प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पाङ्गोलिन’ रहेको वन कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पाङ्गोलिन’ नै रहेका छन् ।
काभ्रेपलाञ्चोकमा भने सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण यो वर्ष रोकिएको छ । वाग्मती प्रदेश सरकारबाट विगत दुई आवदेखि नियमित आउने बजेट चालु आवमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभियान रोकिएको हो ।
संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयले सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । उनका अनुसार अघिल्लो आवमा वाग्मती प्रदेश सरकारले रु दुई लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा रु पाँच लाख पठाएको थियो ।
अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित देखिएका थिए । जिल्लाको कुनकुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए ।
सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो । जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ । यो मानिसका लागि उपयुक्त जनावर हो, यसले अन्नबालीमा लाग्ने कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन, पोखरेलले थपे । उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खान सक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।
अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमीनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।
बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण इकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईंले स्थानीय आठवटा सामुदायिक वनमा अध्ययन गर्दा जमीनमा ५४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए। उनले भने, नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामी सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ । उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराइएको थियो भने एकाइकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।
विश्वभर एशिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एशियामा मात्रै पाइन्छ । एशियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए । उनका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ ।
सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुन सक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपालले बताए । उनले भने, नेपालमा दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ ।



