काठमाडौं । यस साता ४७ अंकले घटेको छ । नेप्से परिसूचक २.३१ प्रतिशत अर्थात ४७.७७ अंक घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ। ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र खुलेको बजारमा २ दिन नेप्से ओरालो लागेको थियो भने १ दिन बढेको हो।
यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण २.४१ प्रतिशत घटेको छ। गत साता २९ खर्ब ८७ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७२ अर्ब रुपैयाँ घटेर २९ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ।
नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा सार्वजनिक गरेसँगै ओरालो लागेको नेप्सेले यस साताको पहिलो कारोबार दिनसम्म निरन्तरता दिएको थियो। दोस्रो कारोबार दिन उकालो लागेको नेप्से, बुधबार राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्देशनले अन्तिम कारोबार दिन पुनः ओरालो लागेको हो।
यस साता आइतबार सार्वजनिक विदा परेको कारणले बजार बन्द थियो । साताको दोस्रो दिन सोमबार २३.६० अंकले घटेर २ हजार ४६ दशमलव ८१ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको तस्रो दिन मंगलबार ग्याल्पो ल्होसार परेको बजर बन्द रहेको थियो ।
साताको चौथो दिन वुधबार ३३.५७ अंकले बढेर २ हजार ८० दशमलव ८ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो यस दिन शेयर बजार बढेपनि कारोबार रकम भने घटेको थियो ।
साताको अन्तिम दिन विहीबार ५७.७४ अंकले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको थियो । २ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको थियो ।
विहीबार धेरैजसो लघुवित्तको शेयर मूल्यमा नकारात्मक असर परेको थियो । बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसको असर सेयर बजारमा देखिएको हो ।‘ नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै कडाइ गरेको हो ।
नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले ७ लाख बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यस्तै, अब लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको वितरण गर्न पाउनेछैन् । यसको कारणले गर्दा लघुवित्तमा नकारात्मक असर गरेको हो ।
१३ उपसमूहमध्ये यस साता जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ०.५८ प्रतिशत बढेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १२.८७ प्रतिशत घटेको छ। साताको अन्तिम कारोबार दिन मात्र यस उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी घटेको थियो।
यस साता ४ स्टकको कुल ४६ करोड ८४ लाख ९७ हजार ६ सय ४१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मर्जरपश्चात ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सूचीकृत भएको हो भने एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो। त्यसैगरी, यस साता निफ्राको ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको हो।



