images
images

कोरिया जान भाषा सिक्दै आमाहरू


  • 422
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    कोरिया जान भाषा सिक्दै आमाहरू

    काठमाडाैं । पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्छन्। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थालेका हुन् ।

    सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्छिन्। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थालेका हुन्। 

    उनले घरव्यवहार धान्नकै लागि श्रीमान् खाडी मुलुक गएको बताए। भाषा परीक्षा पास भए छोरीलाई माइतमै छोडेर कोरिया जाने योजनामा छिन् उनी। 

    बिन्दुले भनिन्, “यहाँ जति दुःख गरे पनि सम्भावना छैन, एक पटक कोरिया छिर्न पाए एक पुस्ता पुग्ने कमाइएला भनेर यतातिर लागेँ।” कोरियाको चक्करमा रहेकी सरु मगरका पति वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको पाँच वर्ष भयो। “अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि भाषा पढेर कोरिया जानुस् भन्दा म पास गर्न सक्दिनँ तिमी पढेर जाऊ म आएर छोरी र व्यवहार सम्हाल्छु भनेपछि इन्स्टिच्युट धाउन थालेकी हुँ,” सरु भन्छिन्। 

    पाँचथरको फिदिममा सञ्चालन भइरहेका कोरिया भाषा सिकाइ केन्द्रहरूमा भेटिने सरु र बिन्दु वैदेशिक रोजगारीको चक्करमा रहेका महिलाको प्रतिनिधि पात्र छिन्। 

    यहाँ सञ्चालित पाँचवटा सिकाइ केन्द्रमा भाषा पढ्नेहरूको लाममा भेटिने १७ देखि ३५ वर्ष उमेर समूहका महिलामध्ये प्रायः नेपालमा रोजगारी नपाइने र पाइहाले घरव्यवहार धान्नै कठिन हुने देखेर यसतर्फ आकर्षित भएको बताँउछन्।

    फिदिमको एक लघुबित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीय अल्का लिम्बू यहाँको आम्दानीले पेट पाल्नै मुस्किल परेकाले कोरियन भाषा सिक्न सिकाइ केन्द्र धाउन थालेको बताउँछन्। 

    “रोजगारदाता वित्तीय संस्थाले दिएको लक्ष्य पूरा गर्न रातोदिन खट्छु, महिना मर्दा पाएको पारिश्रमिकले व्यवहार धान्नै कठिन, रोजगारीका अरू सम्भावना छैनन्, विदेश नगएर के गर्ने ?” उनले भनिन्।

    फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी पनि कोरियन भाषा सिकिरहेकी छिन् । सिद्वकाली मावि कक्षा १२ मा अध्ययनरत उनी तीन महिनादेखि सदरमुकाममा डेरा लिएर बिहान कोरियन भाषा र दिउँसो विद्यालयको कोर्स ट्युसन पढ्छिन्। 

    गाउँठाउँका अग्रज धेरै पढेलेखे पनि जागिर नपाएर भौँतारिनुपरेको, सानोतिनो जागिरका लागि पहुँचमा भएका नेता र आफन्त गुहार्नुपरेको देखेर बेलैमा विकल्प खोज्न थालेको उनले बताए। 

    बीएड तेस्रो वर्षमा अध्ययनरत पाँचथर हिलिहाङ–७ की माङसा लावती भने परिवारभित्रका अरू सदस्यले कोरियामा राम्रो कमाइ गरेको देखेर त्यसतर्फ आकर्षित भएको बताउँछिन्।

    पाँचथरको फिदिममा पाँचवटा कोेरियन भाषा सिकाइ केन्द्र सञ्चालित छन्। प्रत्येक सिकाइ केन्द्रमा पाँच सयदेखि एक हजारको हाराहारी युवाले कोरियन भाषा सिकिरहेका छन्। भाषा सिकिरहेका मध्ये आधाभन्दा धेरै महिला रहेको सेवारो कोरियन भाषा इन्स्टिच्युटका सञ्चालक गजेन्द्र तुम्बापो बताउँछिन्। नेपालको शिक्षा प्रणाली, अस्थिर राजनीति र रोजगारीको न्यून सम्भावनाले पछिल्लो समय ग्रामीण क्षेत्रका महिला रोजगारीका लागि विदेशलाई गन्तव्य बनाउँदैछन्।   


    images
    images

    Logo