images
images

काठमाडौंमा दैनिक ३४ हजारसम्म ग्यास सिलिन्डर ल्याउने तयारी


  • 157
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    काठमाडौंमा दैनिक ३४ हजारसम्म ग्यास सिलिन्डर ल्याउने तयारी

    काठमाडौं । नेपाल आयल निगमले बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर राख्न वैकल्पिक व्यवस्था मिलाएको जनाएको छ ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा ठूलो धनजनको क्षति भएको थियो । उद्धार तथा राहत कार्य जारी रहेकाले ती क्षेत्रमा आवश्यक पेट्रोलियम पदार्थ तथा ग्यासको बिक्री–वितरण व्यवस्थापन भइरहेको निगमले जनाएको छ ।

    त्यस्तै, भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि सडक अवरुद्ध हुँदा उक्त रुटबाट पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेट काठमाडौं आउन नसक्ने अवस्था बनेको निगमले जनाएको छ ।

    त्यसपछि काठमाडौं तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति वैकल्पिक रूपमा बाइरोड अर्थात् त्रिभुवन राजपथबाट भइरहेको छ ।

    निगमका अनुसार काठमाडौं उपत्यकामा बिक्री–वितरण हुने

    पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट भित्र्याइएको छ । एलपी ग्यास उद्योगका लागि भने तराईका उद्योगमा ग्यास सिलिन्डर भरी सोही वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ ।

    उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन भदौ १८ गते करिब २४ हजार ५०० सिलिन्डर र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर ग्यास ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

    साथै, सार्वजनिक बिदाका दिनमा समेत ग्यास रिफिलिङ गर्न तथा उपलब्ध ढुवानी साधनको अधिकतम प्रयोग गरी वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास ल्याउन उद्योगहरूलाई निर्देशन दिइएको छ ।

    उद्धारमा खटिएका हेलिकोप्टरलाई १ लाख २० हजार लिटर हवाई इन्धन

    निगमले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका हेलिकोप्टरका लागि आवश्यक हवाई इन्धनको समेत व्यवस्था गरेको जनाएको छ । नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हेलिकोप्टरमा इन्धन भर्ने व्यवस्था मिलाइएको छ ।

    भदौ १० गतेदेखि हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङका लागि पठाइसकिएको निगमले जनाएको छ । नुवाकोटस्थित सेनाको ब्यारेकबाट हाल पनि नियमित रूपमा रिफ्युलिङ सेवा भइरहेको छ ।

    प्रभावितका लागि ५७५ ग्यास सिलिन्डर पठाइयो उद्धारपछि विभिन्न स्थानका सेल्टरमा रहेका बाढी प्रभावितका लागि आवश्यक एलपी ग्यास उपलब्ध गराउने व्यवस्था पनि गरिएको निगमले जनाएको छ ।

    निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग संघमार्फत उपलब्ध गराउने १ हजार २५० ग्यास सिलिन्डरमध्ये रसुवा र नुवाकोटमा हालसम्म ५७५ सिलिन्डर पठाउने व्यवस्था मिलाइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा उक्त व्यवस्था गरिएको निगमले जनाएको छ ।


    images
    images

    Logo