काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि ओटीटी तथा प्रत्यक्ष प्रसारण अधिकारको टुंगो लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बोलपत्र प्रक्रिया सम्पन्न गर्दै ओटीटी अधिकार नेट टिभी र प्रत्यक्ष टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कलाई प्रदान गरेको हो ।
क्यानले सार्वजनिक गरेको विवरणअनुसार वर्ल्ड वाइड ओटीटी अधिकार नेटटिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँ (करबाहेक) मा प्राप्त गरेको छ । ओटीटी प्रसारण अधिकारका लागि नेटटिभीसहित डीगो स्ट्रिमले पनि प्रतिस्पर्धा गरेको थियो। डीगो स्ट्रिमले १७ करोड रुपैयाँ (करबाहेक) प्रस्ताव गरेको थियो ।
त्यस्तै, नेपाल क्षेत्रका लागि लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालि (हिमालय टिभी) ले प्राप्त गरेको छ । हिमालय टिभीले उक्त अधिकारका लागि करबाहेक १४ करोड ५६ लाख रुपैयाँ कबोल गरेको क्यानले जनाएको छ। करसहित यो रकम करिब १७ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।
हिमालय स्पोर्ट्सले एनपीएलको आधिकारिक प्रत्यक्ष प्रसारण अधिकार प्राप्त गर्नु आफ्नो लागि गर्वको विषय भएको जनाएको छ । कम्पनीका अनुसार यस वर्षको प्रसारण अधिकारका लागि गरिएको बोलकबोल रकम गत वर्षको तुलनामा पाँच गुणाभन्दा बढी तथा तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी हो ।
यसैगरी, एनपीएलको टिकटिङ अधिकार इसेवा लिमिटेडले प्राप्त गरेको छ । इसेवाले ५५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको हो। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत क्यानलाई र ५ प्रतिशत इसेवालाई प्राप्त हुने व्यवस्था गरिएको छ ।
क्यानले नेटटिभी, हिमालय टेलिभिजन तथा इसेवालाई बधाई दिँदै एनपीएलको दोस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै साझेदारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।




