images
images

कर्णाली राजमार्ग अवरुद्ध, साढे दुई करोडको स्याउ बाटोमै


  • 126
    SHARES
  • २०८३ भाद्र २३ गते मंगलबार

    कर्णाली राजमार्ग अवरुद्ध, साढे दुई करोडको स्याउ बाटोमै

    जुम्ला । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट बजारतर्फ पठाइएको झण्डै साढे दुई करोड रुपैयाँ बराबरको स्याउ बाटोमै रोकिएको  छ।

    जुम्लाको स्याउ बोकेर गन्तव्यतर्फ हिँडेका करिब ४० देखि ४२ वटा गाडी सडक अवरुद्ध भएपछि विभिन्न स्थानमा अलपत्र परेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार ती गाडीमा रहेको स्याउको मूल्य झण्डै साढे दुई करोड रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।

    स्याउ लामो समयसम्म बाटोमै रोकिँदा कुहिने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिम रहेको किसान दीपकनाथ योगीले बताए ।

    पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्ड हिजोदेखि अवरुद्ध छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कालीकोटको पिलीमा भत्किएको सडकलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ ।

    तर कालीकोटकै गगने खोला र एस मोड क्षेत्रमा पहिरोका कारण सडक अझै अवरुद्ध रहेको छ । एस मोडमा पहिरो र ढुंगा खस्ने क्रम जारी रहेको तथा गगने खोलामा लेदोसहितको पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको बताइएको छ ।

    सडकको अवस्था जोखिमपूर्ण रहेकाले आधिकारिक रूपमा सडक सञ्चालनमा आएको सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले सडक खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको भए पनि तत्काल सडक सञ्चालनमा ल्याउन कठिन रहेको बताए ।


    images
    images

    Logo