images
images

सोमवार प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्ने


  • 214
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    सोमवार प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्ने

    काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने भएका छन् ।

    सोमबार कञ्चनपुर आउन लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।

    “प्रधानमन्त्रीज्यूको यहाँ निर्माणाधीन योजनाको अनुगमनका साथै दिउँसो महेन्द्रनगरमा आयोजित महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ”, प्रजिअ अर्यालले भने, “भोलि नै जनयुद्ध दिवसको अवसरमा पनि यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।” 

    त्यसैगरी दिउँसो प्रधानमन्त्री दाहालले यहाँ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन गइरहेको १४औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

    कोरोना कहरको दुई वर्षपछि यहाँ हुन लागेको पर्यटन महोत्सव उद्घाटन प्रधानमन्त्रीबाट हुने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिए । उनका अनुसार ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । त्यसैगरी सुदूरपश्चिमको कला, संस्कृति संरक्षणका लागि साङ्गीतिक कार्यक्रमका साथै देउडा प्रतियोगितासमेत महोत्सवमा सञ्चालन हुनेछ ।

    महोत्सवमा स्थानीय उत्पादन, बाल उद्यान, खाद्य तथा होटलका स्टल रहनेछन् । वाणिज्य सङ्घले यहाँ विसं २०५७ देखि महोत्सव आयोजना गर्दै आएको बताउँदै मल्लले मेलालाई एक लाख सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए  । “महोत्सवमा ५ करोडको आर्थिक कारोबार हुने लक्ष्य छ”, उनले भने, “स्थानीय बस्तुभाउ प्रवर्द्धन, पर्यटन तथा कला संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको हो ।”


    images
    images

    Logo