काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार कानुनी कारवाही गर्न प्रतिवद्ध रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताएका छन् ।
अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन एकसाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै निकायको सहयोगको अपेक्षा गरिएको पनि धारणा राखे ।



