काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको श्री लोकप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलसहित २ जनाविरुद्ध रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार अध्यक्ष रावल र कर्णाली जनजागृति समाज नेपालका अध्यक्ष सदानन्द भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अध्यक्ष रावलले विद्यालयको पुस्तकालय निर्माण गर्दा आधिकारिक रुपमा दर्ता नै नभएको कर्णाली जनजागृति समाजसँग अनलाइन सम्झौता गरी रकम हिनामिना गरेको आरोप लगाएको छ । चिनजान नै नभएका भट्टराईलाई सम्झौतावापतको पैसा पठाएर भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि समेत भएको अख्तियारको आरोप छ ।
रावलले विद्यालय कोषको रकम हिनामिना गरेको बताउँदै अख्तियारले उनीमाथि २ लाख १५ हजार बिगो कायम गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदावी समेत गरेको छ । त्यस्तै भट्टराईमाथि पनि अख्तियारले २ लाख १० हजार रुपैयाँ बुझेको र सो बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई हिनामिना भएको रकम असुल उपर गर्न मागदावी गरेको छ ।



