images
images

काठमाडौं महानगरको विकास सहायताका लागि ८९ वटा प्रस्ताव छनोट


  • 284
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    काठमाडौं महानगरको विकास सहायताका लागि ८९ वटा प्रस्ताव छनोट

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका छन् । उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो । 

    आज  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अङ्क प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरेको जानकारी दिइयो ।  

    प्राप्तमध्ये आङ्शिक कागजपत्र र प्रमाण नपुगेका १ सय ३ वटालाई प्रतीक्षा सूचीमा राखिएको छ । एक सय अङ्कमा गरिएको मूल्याङ्कनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र सङ्ख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अङ्क प्रदान गरिएको थियो । 

    बैठकले सचेतनामूलक कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ र रोजगारमूलक कार्यक्रमका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन् । 

    गत पुस २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्याङ्कन गर्न वडा नं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी रहेका छन् । 

     काठमाडौँ महानगरपालिकामा कार्यक्षेत्र भएका गैरसरकारी सङ्घ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मङ्सिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको थियो । 

    दश वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न सङ्घ संस्था, फाउण्डेशन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ प्रस्ताव परेका थिए । १ करोड रुपैयाँ विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनौट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतिक्षा सूचीमा राखिएको छ ।

    ‘नमूना छात्रा सांसद कार्यक्रम’ का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो । यो छनौट भएको छ । यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ । १ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घ संस्थालाई कार्यक्रम सहयोग’ मा २७ प्रस्ताव आएका पर्छन् । तीमध्ये १२ छनौट भएका छन् भने १५ प्रतीक्षा सूचीमा छन् । 

    ‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख रुपैयाँ छ । यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेश भएका थिए । 

    तीमध्ये १४ छनौट भएका छन् र ४७ प्रतीक्षा सूचीमा छन् । २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य’ कार्यक्रममा १३ प्रस्ताव परेका थिए । यीमध्ये नौ वटा छनौट भएका छन् । चार प्रतीक्षा सूचीमा छन् । 

    ‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस क्षेत्रका लागि तीन वटा प्रस्ताव पेश भएका छन् ।

     ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रलपाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न सङ्घ संस्थालाई सहयोग’कार्यक्रमका लागि सात वटा सङ्घसंस्थाको प्रस्ताव परेको थियो । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ । 

    त्यसैगरी २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि चार वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये २ वटा छनौट भएका छन् । दुई वटा प्रतीक्षा सूचीमा छन् ।

     ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा आठ वटा प्रस्ताव पेश भएका थिए । ५० लाख रुपैयाँ बजेट विनियोजन भएको यस शीर्षकमा छ वटा छनौट भएका छन् । दुई वटा प्रतीक्षा सूचीमा रहेको बताइएको छ ।  

     


    images
    images

    Logo