काठमाडौं । शुभम पावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ शुक्रवार मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीप्को आईपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जना आवेदकबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ५ सय ८७ आवेदन रद्द भएका छ भने १२ लाख ७१ हजार ८ सय ३४ आवेदन स्वीकृत भएका छन्।
स्वीकृत भएको आवेदकमध्ये ४८ हजार १ सय ८८ जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ। जसमध्ये भाग्यमानी २ जनाले थप एक कित्ता पाएको कम्पनीले जनाएको छ ।
कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले कुल ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयरमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै,२९ हजार ३० कित्ता सामुहिक लगानी कोष र ११ हजार ६ सय १० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।



