काठमाडौं । यस साता शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.४०अंकले बढेर २ हजार १ सय ८३ दशमलव २१ विन्दुमा पुगेको छ । यस साता ४ कारोबार दिनका लागि खुलेको बजारमा, २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार भएका ओरालो लागेको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साता ३१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन सोनम ल्होसार परेकोले शेयर बजार बन्द भएको थियो । त्यस्तै, साताको दास्रो दिन नेप्से परिसुचक १३.७१ अंकले घटेर २ हजार १ सय ६५ दशमलव १० विन्दुमा पुगेको थियो ।
साताको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको थियो । मंगलबार ८.१५ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २५ विन्दुमा पुगेको थियो । बुधबार १०.७३ अंकले बढेर २ हजार १ सय ८३ दशमलव ६२ विन्दुमा पुगेको थियो ।
त्यस्तै, साताको अन्तिम दिन विहीबार ०.४१ अंकले घटेर २ हजार १ सय ८३ दशमलव २१ विन्दुमा पुगेको छ । यस साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता जीवन बीमा, होटल तथा पर्यटन र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ।
यस साता नेप्सेमा ९ लाख ७९ हजार २३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो।समग्रमा बजारले लय पनि समातिरहेको र अर्थतन्त्रका सूचकहरुमा पनि सुधार हुँदै गएको अवस्थामा अब लगानीकर्ता मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षा पर्खिरहेका छन् ।राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट तानेको अवस्था छ । त्यो भनेको बैंकिङ सेक्टरमा तरलता सहज हुँदै गएको हो ।



