काठमाडाैं । नेपाल आयल निगमका सञ्चालकविरुद्ध कालोबजारी कसुर गरेको आरोपमा जाहेरी परेको छ। उपभोक्ता हित संरक्षण मन्च नेपालको तर्फबाट मञ्चका सचिव एवं अधिवक्ता जयप्रसाद पौडेलले सञ्चालक समितिका सञ्चालकविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन्।
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको कसुरमा अपराध गरेको भन्दै निगमविरुद्ध जाहेरी दिइएको हो। मञ्चका अध्यक्ष ज्योति बानियाँले केन्द्रीय अनुसन्धान ब्युरोमा थप अनुसन्धानका लागि तोक लागि उपभोक्ता ठगी हेर्ने पिलर ३ मा पठाएको जानकारी गराए। कारबाही हुनेमा विश्वस्त रहेको बानियाँ बताउँछन्।
‘केही समय मञ्च पर्खेर त्यसपछि कानुनी बाटो लिने बानियाँ बताउँछन्। निगमले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २(क), घ र ढ को कसुर अपराध गरी पुस १ देखि १५ दिनभित्र मात्रै पेट्रोलियम पदार्थमा उपभोक्तासँग कालोबजारी मार्फत १ अर्ब ३३ करोड रुपैयाँ नाफा उठाएको मञ्चले जनाएको छ।
भारतीय आयल निगमसँग किनेर ल्याएको काठमाडांैको मूल्यको सम्पूर्णलागत हेर्दा पेट्रोलमा १ सय ६३ रुपैयाँ ३४ पैसामा खरिद गरी ९९ रुपैयाँ २२ पैसा नाफा लिएको जाहेरीमा उल्लेख छ। डिजेल १ सय ६७ रुपैयाँ ८२ पैसामाा खरिद गरी ४३ रुपैयाँ ३० पैसा नाफा लिएको छ। हवाई इन्धन आन्तरिकमा १ सय १७ रुपैयाँ ७१ पैसामा ११ रुपैयाँ २७ पैसा र अन्तर्राष्ट्रियमा ४९ रुपैयाँ ५ पैसा नाफा लिई ऐनको दफा २(क),घ र ढ को कसुर अपराध गरेकाले जाहेरी दिएको मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचेको १ पुसदेखि १५ पुससम्म मात्रै १ अर्ब ३२ करोड ८९ लाख नाफाखोरी तथा कालोबजारी गरी नाफा कमाएको मञ्चको दाबी छ।



