काठमाडौं । यस साता नेप्से परिसूचक १ सय ६१ दशमलव ८२ अंकले बढेको छ । यस साता नेप्से परिसुचक ८.३७ प्रतिशतले बढेर २ हजार २९ दशमलव ३ को विन्दुमा पुगेको हो । नयाँ सरकार वा नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उत्साह छाएको छ ।
गत भदौ १० गतेपछि पहिलो पटक गत बिहीबार नेप्सेले दुई हजारको बिन्दु पार गरेको हो। सो समय नेप्से २०२२ बिन्दुमा रहेकोमा बिहीबार २०२९ मा आइपुगेको छ।लामो समयदेखि १८ सयको हाराहारीमा रहेको शेयर बजार यो साता भने २ हजारमाथि पुगेको हो । सातामा ४ दिन मात्र शेयर कारोबार भएको थियो । त्यसमा एक दिन नेप्से घटेको थियो भने अरु तीन दिन बढेको थियो ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। गत साता २७ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब ३४ अर्ब रुपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९९ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ७५ करोडको शेयर खरिदबिक्री भएको छ ।
साताको पहिलो दिन आइतबार शेयर कारोबार बन्द रहेको थियो । सो दिन क्रिसमस डे परेकोले सरकारले सावजनिक विदा दिएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार बजार परिसूचक ५६ अंकले बढेर १ हजार ९ सय २४ दशमलव ७ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, तेस्रो दिन मंगलबार ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । चोथो दिन बुधबार ११.८१ अंकले घट्दा १ हजार ९ सय ७२ दशमलव १५ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब १५ करोड रुपैयाँ शेयर कारोबार भएको
थियो ।
त्यस्तै, अन्तिम दिन विहीबार ५६.८८ अंकले बढेर १ हजार २९ दशमलव ३ विन्दुमा पुगेको थियो सो दिन अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । पछिल्लो समय बैंकहरूमा तरलतामा समेत सुधार आइरहेकोले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढ्दै गएको देखिन्छ । अर्थमन्त्रीको रूपमा विष्णु पौडेलले जिम्मेवारी सम्हालेसँगै बजारमा आत्मविश्वास देखिएको हो।



