काठमाडौं । । यो साता सेयर बजारको परिसूचक नेप्से ३४.६८ अंक घटेर १ हजार ८ सय ८२ दशमलव ६० विन्दुमा पुगेको छ । साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।
यस साताको दोस्रो दिन सोमबार बाहेक अन्य सबै कारोबार दिन बजार शेयर बजार घटेको थियो । यस साता नेप्सेको कुल बजार पूँजीकरण १.४५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ६१ अर्ब रुपैयाँ रहको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३९ अर्ब रुपैयाँ घटेर २७ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ३१.९७ अंकले बढेर १ हजार ८ सय ८५ दशमलव ३१ अंकमा पुगेको थियो । सो दिन १ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो दिन १६.९६ अंकले बढेर १ हजार ९ सय २ दशमलव २८ बिन्दुमा पुगेको थियो । यस दिन भने सेयर बजार सामान्य अंकले बढेको थियो । सो दिन १ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको तेस्रो दिन मंगलबार २.५७ अंकले घटेर १ हजार ८ सय ९९ दशमलव ७० बिन्दुमा पुगेको थियो । सो दिन ७७ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन बजारसँगै कारोबार रकम पनि गिरावट आएको थियो ।
साताको चौथो दिन बुधबार ४.०७ अंकले घटेर १ हजार ८ सय ९७ दशमलव ०८ को विन्दुमा पुगेको थियो । सो दिन ७२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम दिन अथात् बिहीबार १४.४८ अंकले घटेर १ हजार ८ सय ८२ दशमलव ६० अंकमा पुगेको थियो । सो दिन १ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता ३ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । आईपीओ सुचीकृत हुने कम्पनीमा श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावर रहेका छन् ।
श्रृजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको ३ करोड २० लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ भने इष्टर्न हाइड्रोपावरको ६२ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ
त्यस्तै यसै साता राधी विद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । सो कम्पनीको ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यस साता १० कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा नबिल बैंक, प्राइम बैंक, नेपाल बैंक, गुँरास लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, शिवम् सिमेन्ट्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट, विन्ध्यवासिनी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र शिखर इन्स्योरेन्स रहेका छन् ।



