काठमाडौं । मर्जर प्रक्रियामा रहेका २२ कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर तेस्रो सातासम्ममा सो संख्या बराबर कम्पनीको कारोबार फुकुवा गरेको हो । मर्जर प्रक्रियामा रहेकामध्ये ११ कम्पनीको शेयरको कारोबार भने अझै खुला हुन बाँकी छ ।
यसरी फुकुवा हुने कम्पनीहरुमा १० वटा वाणिज्य बैंक, ६ वटा लघुवित्त, ५ वटा इस्योरेन्स कम्पनी रहेका छन् ।
कारोबार खुला हुने वाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक, सिभिल बैंक ,सेञ्चुरी बैंक, प्रभु बैंक र हिमालयन बैंक रहेका छन् । योसँगै नेप्सेमा सुचीकृत सवै वाणिज्य बैंकहरुको शेयर कारोबार सुचारु भएको छ ।
त्यस्तै, लघुवित्ततर्फ मर्जर प्रक्रियामा रहेका साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त, आदर्श लघुवित्त, नाडेप लघुवित्त, नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार पनि खुलेको छ । अब सीवाईसी लघुवित्त, आँधिखोला लघुवित्त, वोमी लघुवित्त र सुर्योदय लघुवित्तको शेयर कारोबार खुल्न बाँकी छ ।
इस्योरेन्स कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, अजोड इस्योरेन्स, सानिमा लाइफ इस्योरेन्सको कारोबार खुल्दा सुर्या लाइफ इस्योरेन्स, ज्योति लाइफ इस्योरेन्स, प्रभु लाइफ इस्योरेन्स, महालक्ष्मी लाइफ इस्योरेन्स, सगरमाथा इस्योरेन्स र लुम्विनी जनरल इस्योरेन्स, रिलायन्स लाइफ इस्योरेन्सका शेयर अझै बन्धक अवस्थामा छन् ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको गरेको ‘धितोपत्र बोर्डमा दर्ता भएका बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाम्भने/गाभिने तथा प्राप्ति गर्ने निर्देशिका–२०७९’ अनुसार मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको कारोबार बढीमा १५ दिनमात्रै रोक्का राख्न पाइन्छ । यस अनुसार मर्जरमा जाने कम्पनीहरुले मर्जर सम्झौता गरेकै दिन दोस्रो बजारमा शेयर कारोबार रोक्नु पदैन । तर निर्देशिका जारी हुनअघि रोक्का रहेका कम्पनीहरुले भने नेप्सेमा निवेदन दिएपछि मात्रै कारोबार सुचारु हुने व्यवस्था छ ।
हालसम्म नेप्सेमा आएको निवेदनको आधारमा ती कम्पनीहरुको कारोबार फुकुवा गरिएको र बाँकी रहेका कम्पनीबाट निवेदन प्राप्त भएपछि ती कम्पनीको कारोबार समेत खुला हुने नेप्सेले जनाएको छ ।



