काठमाडौं । नेपाल इन्फ्रस्ट्रक्चर बैंकको ऋणपत्र मंसिर २९ गतेदेखि खुल्दैछ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने भएको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
उक्त ऋणपत्र छिटोमा पुस ४ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख कित्ताका आवेदन दिन सकिनेछ ।
सो ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।



