काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल एक्सचेञ्ज नेप्सेले मंसिर १८ गते गरेको निर्णय अनुसार अजोड इस्योरेन्स र रिडी पावर कम्पनीको शेयर कारोबारको शेयर कारोबार फुकुवा गरेको हो ।
प्रभु इस्योरेन्स र अजोड इस्योरेन्स मर्जरमा जाने प्रकृयामा रहेपछि नेप्सेले यी दुवै कम्पनीकाे शेयर कारोबार रोक्का गरेको थियो । भने प्रभु इस्योरेन्सकाे केही दिन पहिले नै नेप्सेले काराेबार फुकुवा गरेकाे थियाे ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।
त्यस्तै, रिडी पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी लाभांश दिने घोषणा गरेको थियो । उक्त घोषणासँगै नेप्सेले कारोबार रोक्का गरेको थियो ।
आइतबार नेप्सेले कम्पनीलाई आगामी दिनमा त्यस्तो कमजोरी नगराउन सचेत गराउँदै सोमबारदेखि लागू हुनेगरी कारोबार फुकुवा गरेको जनाएको छ ।
नेप्सेका अनुसार कम्पनीले अब उप्रान्त त्यस्तो कमी कमजोरी नगर्ने/नगराउने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले क्षमायाचता मागेकाले कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनीले मंसिर ६ गते आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४२.१० प्रतिशत लाभांश घोषणा गरेको थियो ।



