काठमाडौं । यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । बजार खुलेका ४ कारोबार दिन नै नकारात्मक भएर बन्द भएसँगै, नेप्सेले सो बराबरको अंकको गिरावट आएको हो।
अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १ हजार ८ सय ७० दशमलव ६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक ३ गतेसम्ममा २६.४९ अंकले घट्दै १ हजार ८ सय ४४ दशमलव १४ बिन्दुमा झरेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अंकले घटेर नेप्से सूचक १ हजार ८ सय ६०दशमलव ९४ अंकमा झरेको थियो । दोस्रो दिन सोमबार २.६१ अंकले घटेको थियो । साताको तेस्रो दिन मंगलबार सार्वजनिक विदा परेकाले सेयर कारोबार हुन सकेन । त्यस्तै, बुधबार १२.८२ अंकले घटेको थियो भने पाँचौ दिन अर्थात् अन्तिम कारोबार दिन (बिहीबार) थप १.३७ अंकले घट्दै नेप्से सूचक १ हजार ८ सय ४४ दशमलव १४ अंकमा झरेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ७८ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ६२ करोडको शेयर खरिदबिक्री भएको छ। यस साता कुल बजार पूँजीकरण १.३५ प्रतिशत घटेको छ। गत साता २६ खर्ब ८८ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ३६ अर्ब रुपैयाँ घटेर २६ खर्ब ५२ अर्ब रुपैयाँमा सीमित भएको छ।
१३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ। यी दुई उपसमूहको परिसूचक क्रमशः १.१० प्रतिशत र ०.१४ प्रतिशत बढेको छ।
घटेका उपसमूहमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५२ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ सय ३१.८४ प्रतिशत घटेको छ। यस साता लाभांशको लोभले बैंक तथा वित्तीय क्षेत्रको सेयर मूल्यमा केहीँ उतारचढाप आएपनि अन्य क्षेत्रहरुको सेयर मूल्यमा भने खासै सुधार आउन सकेको छैन।
यो साता बजारमा के के भयो ?
१. लाभांश घोषणा
यो साता ४ कम्पनीले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को नाफा, सिञ्चित नाफा तथा शेयर प्रिमियमबाट प्राप्त रकमबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
यसरी लाभांश घोषणा गर्ने कम्पनीमा एनसीसी बैंकले, बैंक अफ काठमाण्डू, सोल्टी होटल र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् ।
| कम्पनीको नाम | बोनस शेयर | नगद लाभांश | जम्मा |
| एनसीसी बैंक | ३.३६६३ | ७.६३३७ | ११.०० |
| बैंक अफ काठमाण्डू | ६ | १४.९५ | २०.९५ |
| सोल्टी होटल | ५ | २१.३१५ | २६.३१५ |
| प्राइम लाइफ इन्स्योरेन्स | १३ | ०.६८४२ | १३.६८४२ |
२.शेयर सूचीकरण
यस साता एक कम्पनीको शेयर सुचीकरण भएको छ । शेयर सुचीकरण हुनेमा धौलागिरि लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत हो । कम्पनीको १० लाख ३१ हजार कित्ता आईपीओ सुचीकृत भएको हो ।



