काठमाडौं । नयाँ स्टक ब्रोकरदेखि धितोपत्र बजार (नेप्से) को नयाँ लाइसेन्स खुला भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार सूचना जारी गर्दै नयाँ धितोपत्र बजार, नयाँ धितोपत्र दलाल, धितोपत्र व्यापारीको लाइसेन्स खुला गरेको हो । त्यस्तै, लामो समयदेखि रोकिँदै आएको वस्तु विनिमय बजार (कमोडिटिज एक्स्चेञ्ज) कम्पनीको संस्थापना पूर्वस्वीकृतिको लागि पनि लाइसेन्स खुला भएको छ ।
बोर्डले सूचना जारी गर्दै धितोपत्र बजारका लागि ४५ दिन, धितोपत्र दलाल तथा व्यापारीका लागि ३० दिन र वस्तु विनिमय बजारका लागि ४५ दिनको समय दिइएको छ । बोर्डले संशोधन गरेको नयाँ नियमावलीहरुले व्यवस्था गरेको योग्यता पूरा गरी रीतपूर्वक आवेदन गरेका संगठित संस्थामध्येबाट मूल्यांकन गरी बजारको आवश्यकता अनुसार लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ ।






