काठमाडौं । शेयर कर्जामा १२ करोडको सीमा हटाउन राष्ट्र बैंकले तयारी थालेको छ । सोमबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना एक गरेको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
शेयर धितो कर्जामा रहेको १२ करोडको सीमा कायम राखिराख्ने पक्षमा आफूहरु नरहेको भन्दै उनले मौद्रिक नीतिले ४ करोडको प्रावधान हटाएकोमा १२ करोडको मात्र सीमा पनि हटाउन चाहेको बताए । यसका लागि मार्जिन ट्रेडिङ कारोबार सुरु हुनुपर्ने उनको भनाइ थियो ।
‘ब्रोकरहरुबाट मार्जिन ट्रेडिङ सुरु भएपछि यो सीमाको समस्या पनि हुँदैन । १२ करोडको क्याप पनि हट्छ, यसका लागि हामी तयार छौ ।’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘केन्द्रीय बैंक पुँजी बजारको विकास चाहन्छ तर सँगै अन्य उत्पादनमूलक क्षेत्रहरुमा कर्जाको अभाव पनि नहोस् भन्ने पनि चाहन्छ ।’



