काठमाडौं । शेयर बजार परिसूचक २ हजारको विन्दुबाट तल झरेसँगै लगानीकर्ता संघहरुको अर्को विज्ञप्ती आएको छ । निरन्तर रुपमा बजार घट्दै गएको अवस्थामा नयाँ ब्रोकरलाई लाइसेन्स दिने विषय रोक्न चलखेल भएको भन्दै संघहरुले विज्ञप्ती जारी गरेका हुन् ।
लगानीकर्ता संघहरु इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र पुँजीबजार लगानीकर्ता संघका अध्यक्षहरुले जारी गरेको विज्ञप्तीमा मन्त्रिपरिषद्मा पुगेको धितोपत्र व्यवसायी नियमावली संशोधनमा ढिलासुस्ती गरेको भन्दै यसमा गम्भीर आशंका व्यक्त गरिएको छ । बजारमा ब्रोकरको स्वतन्त्र रुपमा प्रवेश र बहिर्गमन खुला गर्न माग गरिएको छ ।
जबजब बजार घट्दै जान्छ लगानीकर्ताहरु विभिन्न बहानामा आक्रोशित र आन्दोलित हुने गर्छन् । बजारले सुधारको बाटो लिएपछि चुप लाग्ने गरेका छन् । लगानीकर्ता संघले राख्ने मागहरु स्वभाविक किसिमको भए पनि बजार घट्न थालेपछि मात्रै नीतिगत विषयमा कुरा उठाउने यो प्रवृत्ति यसपटक समेत दोहोरिएको छ ।




