काठमाडाैं । सांसद अमरेशकुमार सिंहले हालै संसद् बैठकमा देशको वित्तीय अनुहार देखिने एउटा आँकडा प्रस्तुत गरे। उनले भने, ‘बैंकहरूले गत वर्ष लगाएको ४७ खर्ब रुपैयाँ ऋणमध्ये करिब १ सय जनाले नै ३० खर्ब ओगटेका छन्। एउटै व्यापारिक समूहले ५०–६० अर्बसम्म कर्जा लिएका छन्। जबकि किसानले जति धाए पनि ऋण पाउँदैनन्।’
नेपाल राष्ट्र बैंक उच्च स्रोतले पनि यसलाई पुष्टि गरेको छ। ‘कुनै निश्चित कम्पनीको मात्र हेर्दा त्यति पुग्दैन। तर, व्यापारिक समूह र तिनमा जोडिने अनेकन व्यक्तिको गर्दा भने करिब त्यही परिमाण आउँछ’, स्रोतले भन्यो, ‘तिनको एकीकृत तथ्यांक निकाल्न मेलो पाउनै सकिन्न।’
राष्ट्र बैंकको गत आर्थिक वर्षको असारसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ९ अर्ब ३ करोड रुपैयाँबराबर कर्जा प्रवाह गरेका छन्। उक्त कर्जा १८ लाख २९ हजार २९ ऋणीले उपयोग गरेका छन्। यसमध्ये करिब ६० प्रतिशत ऋण ठूला ऋणीको पकडमा छ। जसमा ठूला व्यावसायिक घराना छन्। यसअन्तर्गत सबैभन्दा बढी हिस्सा जगदम्बा ग्रुपको छ। यससँगै एनसेल, भाटभटेनी ग्रुप, आईएमई ग्रूप, सिजी ग्रुप, विशाल ग्रुपलगायत छन्।
जब कि १८ लाख ऋणीले १७ खर्ब मात्रै लिएका छन्। ‘जति ठूलो कर्जा त्यति धेरै जोखिम हुने भएकाले त्यस्ता केही समूहले पैसा डुबाए भने सर्वसाधारणको निक्षेप नै धरापमा पर्न सक्छ।



